माघे सङ्क्रान्तिमा टोखाको चाकूको माग उकालो, पाँच करोडभन्दा बढीको कारोबार
चितवन, ३० पुस । माघे सङ्क्रान्तिको अवसरमा यस वर्ष टोखाबाट पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको चाकू बिक्री भएको छ। सङ्क्रान्तिको पूर्वसन्ध्यामा चाकूको माग बढेसँगै टोखाका व्यवसायीहरूलाई उत्पादन र बिक्री भ्याइनभ्याइ छ।
हाल टोखामा १८ वटा उद्योग सञ्चालनमा छन्, जसमा १० उद्योगले चाकू उत्पादन गर्दै आएका छन् भने बाँकी आठ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार तयार गर्छन्। टोखा नगरपालिका–२ र ३ क्षेत्र चाकू उत्पादनका मुख्य केन्द्र हुन्, जुन टोखाको पुरानो बजारसमेत हो।
टोखामा उत्पादित चाकू काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुरलगायत स्थानका साथै नारायणघाट, पोखरा, बुटवल र विराटनगरजस्ता सहरमा पनि बिक्रीका लागि पठाइन्छ। यहाँ उत्पादन हुने चाकूले देशको करिब ६० प्रतिशतभन्दा बढी माग पूर्ति गर्ने गरेको बताइन्छ। साथै, टोखाको चाकू जापान, अमेरिका र अष्ट्रेलियालगायत देशमा समेत निर्यात हुँदै आएको छ।
टोखामा बर्सेनि करिब पाँच लाख किलो चाकू र लड्डु उत्पादन हुने गरेको छ। सादा चाकू, मसला चाकू, स्पेशल चाकू, सेतो र कालो तिलका लड्डु, बम्बे लड्डु, पुष्टकारी, भूजा लड्डु र बदाम लड्डुलगायत परिकार यहाँका उद्योगमा तयार हुन्छन्।
पहिले टोखामा उखुखेती प्रचुर मात्रामा हुने गरे पनि सहरीकरणसँगै उखुखेती घटेपछि कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट सख्खर ल्याई चाकू उत्पादन गरिँदै आएको छ। सादा चाकूको मूल्य प्रतिकिलो १४० रुपैयाँ र मसला चाकूको १५० रुपैयाँ निर्धारण गरिएको छ भने सेतो तिलको लड्डु प्रतिकिलो २३० र कालो तिलको २५० रुपैयाँमा बिक्री हुँदै आएको छ।
टोखा नगरपालिकाले चाकूलाई सांस्कृतिक पहिचानका रूपमा संरक्षण र प्रवर्द्धन गर्न चाकू स्तम्भ निर्माणको तयारीसमेत गरेको छ। नगरपालिकाका अनुसार टोखा–२ गले क्षेत्रमा चाकू स्तम्भ निर्माणका लागि डिपिआर तयार भइसकेको छ र चाँडै निर्माण कार्य सुरु गरिनेछ।
नेवारी संस्कृतिमा माघ १ गते चाकू खानैपर्ने परम्परा छ। जाडो मौसममा चाकू सेवन गर्दा स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ, त्यसैले माघे सङ्क्रान्तिमा चाकूसँगै सख्खर, तरुललगायतका परिकार खाने चलन रहेको छ।



















