नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवमा आकर्षक अफर, डाटा र सिममा विशेष छुट
चितवन, २२ माघ । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ।
टेलिकमका अनुसार बिहीबारदेखि सात दिनसम्म सब्सक्रिप्सन गर्ने ग्राहकलाई लक्षित गर्दै यी अफर ल्याइएको हो। माघ २२ देखि माघ २८ सम्म ‘डबल टु प्याक’ अन्तर्गत जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरूले २२२ रुपैयाँमा २२ दिनको समयावधिका लागि २२ जिबी डाटा प्राप्त गर्न सक्नेछन्।
यसैगरी ‘डेली टु प्याक’ अन्तर्गत २२ रुपैयाँमा १ दिनको समयावधिका लागि २ जिबी डाटा उपलब्ध हुनेछ। ‘सेलिब्रेशन कम्बो प्याक’ अन्तर्गत २२२ रुपैयाँमा २२ दिनसम्म सबै नेटवर्कमा २२२ मिनेट भ्वाइस, ४ जिबी डाटा र सबै नेटवर्कमा पठाउन मिल्ने २२२ वटा एसएमएस सेवा प्रदान गरिनेछ।
हाल ९० रुपैयाँमा बिक्री हुँदै आएको प्रिपेड सिम कार्ड अब २२ रुपैयाँमै उपलब्ध गराइने टेलिकमले जनाएको छ। यो योजना माघ २२ देखि फागुन १४ गतेसम्म नेपाल टेलिकमका सबै काउन्टरहरूमा लागू हुनेछ।
एफटीटीएच सेवा नयाँ जडान गर्ने ग्राहकका लागि लाग्ने ५०० रुपैयाँ जडान शुल्क माघ २२ देखि फागुन २२ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको छ। साथै, विद्यार्थी अफरको समयावधि २०८२ फागुन २२ सम्म थप गरिएको छ।
माघ २१ सम्म वार्षिक वा बहु–वार्षिक एफटीटीएच डाटा सेवा प्रयोग गरिरहेका ग्राहकको मोबाइल नम्बरमा २२ जिबी मोबाइल डाटा बोनस स्वरूप प्रदान गरिनेछ। माघ २२ देखि २८ सम्म नयाँ जडान वा नवीकरण गर्ने ग्राहकलाई पनि भोलिपल्टै यो बोनस उपलब्ध हुनेछ।
त्यसैगरी, माघ २२ देखि २८ सम्म १ महिना वा ३ महिनाको डाटा प्याकेज लिएका ग्राहकले वार्षिक वा बहु–वार्षिक प्याकेजमा नवीकरण गरेमा २२ जिबी बोनस डाटा पाउनेछन्। माघ २८ सम्म डिमाण्ड पोर्टलमा दर्ता गराउने नयाँ ग्राहकहरूलाई पनि ७ दिनको समयावधि रहने गरी बोनस डाटा प्रदान गरिनेछ।
पुरानो बाँकी बक्यौता असुली अन्तर्गत आर्थिक वर्ष २०७९/८० सम्मको रकम माघ मसान्तसम्म भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना २०८२ चैत मसान्तसम्मका लागि छुट दिइएको टेलिकमले जनाएको छ।



















