महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा
चितवन, ०१ चैत्र । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी का अनुसार सहसौला चोक नजिकबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा २० वटा पोकामा लुकाएर राखिएको गाँजासहित डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्मा ले दिएको जानकारीअनुसार गएराति करिब ११ बजे पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुर बाट खटिएको प्रहरी टोलीले कारसहित गाँजा बरामद गरेको हो।
घटनापछि कार चालक फरार रहेको प्रहरीले जनाएको छ। बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताएका छन्।





















