मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
चितवन, ०२ चैत्र । कैलालीस्थित वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीले भट्टलाई हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको जनाएको छ। भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो।
स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। भट्टले केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूलाई पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।























