सिटमा दोस्रो भए पनि नीति–सिद्धान्तमा कांग्रेस विजयी : महामन्त्री पौडेल
चितवन, ०९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले हालैको निर्वाचनमा सिट संख्याका आधारमा पार्टी दोस्रो स्थानमा रहे पनि नीति र सिद्धान्तका हिसाबले कांग्रेस विजयी भएको बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको सबैभन्दा सकारात्मक पक्ष नेपाली मतदाताले ‘प्रजातान्त्रिक उदारता’ लाई रोज्नु रहेको उल्लेख गरे।
उनले भने, “सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रो नीति र सिद्धान्त विजयी भएका छन्। नेपालमा एउटा नयाँ परिवर्तनको आयाम सुरु भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने विश्वास छ।” पौडेलले विगतमा कम्युनिष्ट शक्तिहरूले प्रणाली जोगाउन कांग्रेससँग सहकार्य गरेको स्मरण गर्दै अबको जनमतले मुलुकलाई सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रतर्फ अघि बढाउन ‘कांग्रेसी मार्ग’ रोज्नुपर्ने स्पष्ट सन्देश दिएको बताए।



















