असिना र हावाहुरीले रौतहटमा अन्नबाली नष्ट, किसान मारमा
चितवन, ०९ चैत्र । रौतहटमा बेमौसमी वर्षासँगै परेको असिना र तीव्र हावाहुरीका कारण अन्नबालीमा व्यापक क्षति पुगेको छ।
शुक्रबार साँझदेखि सुरु भएको खराब मौसमले गहुँ, मकै, मसुरो, उखु, फलफूल तथा तरकारी बालीमा ठूलो नोक्सानी पुर्याएको हो।
पाक्न लागेको गहुँ र घोगा लाग्न थालेको मकै तथा केरा बाली हावाहुरीले ढालेपछि किसानहरू ठूलो समस्यामा परेका छन्।
असिना र हावाहुरीले सर्वसाधारणका खपडा तथा टायलले छाएका घरमा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन्।
बृन्दावन नगर क्षेत्रमा करिब २०० बिघामा लगाइएको मकै खेतीमध्ये अधिकांश नष्ट भएको छ। उक्त क्षेत्रमा मात्रै एक करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। चन्द्रपुर, गुजरा, फतुवा विजयपुर र कटहरिया लगायतका पालिकामा पनि बालीमा ठूलो क्षति पुगेको छ। हाल स्थानीय तह र सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गरिरहेका छन्।






















