नेपाली कांग्रेसको १५औं महाधिवेशन तालिका संशोधन, वडा अधिवेशन २ भदौदेखि
चितवन, ११ चैत्र । नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन २ भदौदेखि सुरु गर्ने निर्णय गरेको हो।
यसअघि मंगलबारको बैठकमा ६ साउनदेखि वडा अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको थियो। तर, उक्त कार्यतालिकालाई संशोधन गर्दै नयाँ मिति तय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
संशोधित तालिकाअनुसार गाउँ–नगर अधिवेशन ७ भदौमा हुने भएको छ, जुन यसअघि १२ साउनका लागि तय गरिएको थियो। त्यस्तै, २३ साउनमा प्रस्ताव गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन अब १७ भदौमा आयोजना गरिनेछ।
क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय गरिएको छ, जुन यसअघि ३० साउनका लागि प्रस्ताव गरिएको थियो। यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने भएको छ, जुन पहिले ६ र ७ भदौमा गर्ने प्रस्ताव थियो।
प्रदेश अधिवेशन पनि संशोधन गरिएको छ। अब प्रदेश अधिवेशन ७ र ८ असोजमा हुनेछ, जबकि यसअघि १५ र १६ भदौका लागि प्रस्ताव गरिएको थियो।
संशोधित कार्यतालिकाअनुसार १५औं महाधिवेशन आगामी १६, १७, १८ र १९ असोजमा काठमाडौंमा आयोजना हुने भएको छ। यसअघि महाधिवेशन २४–२६ भदौमा गर्ने प्रस्ताव गरिएको थियो।



















