खाडी संकटमा नेपाली उद्धार : आजदेखि विशेष उडान सुरु
चितवन, २० चैत्र । पश्चिम एसियाका खाडी राष्ट्रहरूमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज शुक्रबार काठमाडौं–दुबई, शनिबार दुबई–काठमाडौं तथा आइतबार काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।
सरकारका अनुसार ती क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्याउन विशेष उडान सञ्चालन गर्न लागिएको हो ।
यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेको थियो । उक्त बैठकले पश्चिम एसियामा रहेका नेपालीको उद्धार, आवागमन सहजता र आवश्यक हवाई सेवा सञ्चालनबारे निर्णय गरेको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।
पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षा अवस्थाका कारण त्यहाँका नियमित उडानहरू फेब्रुअरी २८ देखि स्थगित हुँदै आएका छन् ।


















