धनुषामा ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०८२ | १६:१४:५२
चितवन, २० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्। अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा उनलाई आज नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक अवरोध सिर्जना गर्दै रकम माग्ने आरोप रहेको छ।
ठेकेदारसँग घुस मागिएको सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२ |
१६:१४:५२
1189























