श्रम मन्त्रालयको चेतावनी: न्यूनतम पारिश्रमिक र सुविधा नदिने रोजगारदातालाई कारबाहीको जोखिम
चितवन, २३ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र कानुनबमोजिमका सेवा सुविधा नदिने रोजगारदाता तथा संस्थाहरूमाथि कडा चेतावनी जारी गरेको छ।
मन्त्रालयले विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालय लगायतका प्रतिष्ठानमा कानुनको उल्लङ्घन भइरहेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा ‘इन्टर्न श्रमिक’को रूपमा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक तथा कर्मचारी, र अन्य प्रतिष्ठानका कर्मचारीले न्यूनतम पारिश्रमिक र सेवा सुविधा नपाएको उजुरी गरेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) अनुसार इन्टर्नको रूपमा काममा लगाइएका व्यक्तिलाई पनि रोजगारदाताले अनिवार्य रूपमा सेवा सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
साथै तालिमी श्रमिकलाई पनि कानुनअनुसार न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा लगायतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।


















