नेपाल राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको विस्तृत तथ्याङ्क सार्वजनिक, त्रैमासिक रूपमा अद्यावधिक गरिने
चितवन, ३० चैत्र । नेपाल राष्ट्र बैंकले घरजग्गा (रियलस्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार पारिएको उक्त विवरण अबदेखि नियमित रूपमा सार्वजनिक गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग तथा आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कको आधारमा घरजग्गा कारोबारसम्बन्धी विवरण अब त्रैमासिक रूपमा प्रकाशन गरिनेछ।
राष्ट्र बैंकले लिखत पारितअन्तर्गत राजीनामा कारोबारलाई आधार बनाएर विश्लेषण गरेको छ। यस क्रममा कारोबार संख्या, मूल्य, क्षेत्रफल, राजस्व सङ्कलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जाजस्ता सूचकहरू समेटिएका छन्।
तथ्याङ्कले घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखाएको छ। पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने देखिएको छ।
प्रदेशगत रूपमा कारोबार संख्या हेर्दा मधेस प्रदेश पहिलो स्थानमा छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार न्यून देखिएको छ। क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा सबैभन्दा बढी रहेको छ।
प्लट साइजको दृष्टिले मधेसबाहेक अन्य प्रदेशहरूमा २.५ देखि १० आना क्षेत्रफलका जग्गाहरू बढी किनबेच हुने गरेको पाइएको छ। तर मधेस प्रदेशमा २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार भएको देखिन्छ। घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ, जहाँ महानगर तथा उपमहानगर क्षेत्रमा ५ देखि १० आना प्लटको कारोबार बढी देखिएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ।
घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्वमा पनि उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा करिब २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार हुँदै २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रकाशनले रियलस्टेट क्षेत्रको गतिविधि विश्लेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी चरणमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने तयारी पनि भइरहेको जनाएको छ।
















