त्रिपुरेश्वरको बागमती स्विट्समा अखाद्य सामग्री भेटिएपछि उत्पादन र बिक्रीमा रोक
चितवन, ०१ बैशाख । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिमा उत्पादन तथा बिक्रीवितरण रोक लगाइएको छ।
गत चैत २९ गते आयोजित एक सार्वजनिक कार्यक्रममा उक्त कम्पनीले उपलब्ध गराएको खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपछि मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिएकी थिइन्।
सोही निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ र गुणस्तरसम्बन्धी गम्भीर कमजोरी फेला पारेको थियो। त्यसपछि प्रचलित कानुनअनुसार कम्पनीको उत्पादन रोक्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। यसैबीच, मन्त्री चौधरीले खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको बताउँदै यस्ता गुनासोमा कडा कारबाही गरिने स्पष्ट पारेकी छन्।


























