संघीय संसदका सबै समितिमा नयाँ नेतृत्व, अधिकांश सभापति निर्विरोध चयन
चितवन, ०४ बैशाख । संघीय संसद अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा नयाँ नेतृत्व चयन गरिएको छ।
आज सम्पन्न निर्वाचनमा १२ मध्ये १० वटा समितिका सभापति निर्विरोध चयन भएका छन् भने दुई समितिमा मतदान भएको थियो।
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन्। उक्त पदका लागि नेकपाकी मदन कुमारी शाह (गरिमा) समेत प्रतिस्पर्धामा थिइन्।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन विजयी भएकी छन्। उनले नेकपा एमालेका गुरुप्रसाद बराललाई पराजित गरिन्।
नयाँ संरचनाअनुसार ११ समितिमा रास्वपाले नेतृत्व पाएको छ भने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का निर्विरोध चयन भएका छन्। नवनिर्वाचित सभापतिहरूले सभामुख डिपी अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

























