आज २० औँ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धिको स्मरण
चितवन, ११ बैशाख । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेपछि जनताको विजयको रूपमा यो दिन स्थापित भएको हो। यही ऐतिहासिक क्षणको स्मरणमा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउने परम्परा सुरु भएको हो।
संसद् विघटनपछि निर्वाचन हुन नसक्दा राजनीतिक अस्थिरता बढेको थियो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्दै शासन चलाएका थिए। विसं २०६१ माघ १९ मा राजाले प्रत्यक्ष शासन लिएपछि आन्दोलनरत सात दल र तत्कालीन माओवादीबीच १२ बुँदे समझदारी भई आन्दोलनले नयाँ मोड लिएको थियो।
२०६२ फागुनदेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलन चैतसम्म देशव्यापी बन्यो। नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा उत्रिएपछि अन्ततः वैशाख ११ गते संसद् पुनर्स्थापनाको घोषणा भयो, जसले लोकतन्त्र पुनर्स्थापनाको आधार तयार गर्यो।
त्यसपछि विसं २०६३ जेठ ४ गतेको संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गर्यो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’ पनि भनिन्छ। यही प्रक्रियाबाट २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो।
अन्ततः दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो। अहिले सोही संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट शासन सञ्चालन भइरहेको छ। लोकतन्त्रतर्फको यही ऐतिहासिक परिवर्तनको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई विशेष रूपमा स्मरण गरिन्छ।























