ऊर्जामन्त्री श्रेष्ठसँग चीन र भारतका राजदूतको छुट्टाछुट्टै भेट, सहकार्यमा जोड
चितवन,१२ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ। विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो। साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई सहकार्यको प्रमुख आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितमा केन्द्रित सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, भारतीय राजदूतसँगको भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार दिगो विकास, क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार तथा दीर्घकालीन साझेदारीलाई सुदृढ बनाउने साझा दृष्टिकोणमा जोड दिइएको छ।
मन्त्रालयले आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ।
























