उद्धार गरिएका सुकुम्बासीलाई आश्रय दिन होटल व्यवसायी महासंघ नेपाल तयार
चितवन, १२ बैशाख । होटल व्यवसायी महासंघ नेपालले जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न तत्परता जनाएको छ।
महासंघका अध्यक्ष टीआर भण्डारी (शंकर)ले जारी गरेको वक्तव्यमा काठमाडौंको थापाथलीसहित विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकलाई अस्थायी रूपमा सुरक्षित बसोबास उपलब्ध गराउन आफूहरू सक्षम रहेको उल्लेख गरेका छन्।
‘होटल व्यवसायी महासंघ नेपाल आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिबद्ध रहेको जानकारी गराउँदै आज काठमाडौंका थापाथली लगायतका विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौँ ।’ महासंघले भनेको छ ।
महासंघअन्तर्गत काठमाडौं उपत्यकाका सदस्य होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब एक हजार जनासम्मलाई तत्काल आश्रय दिन सकिने बताइएको छ।
उद्धार गरिएका नागरिकको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित आवासको व्यवस्था गरिने महासंघले जनाएको छ। साथै यसका लागि सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ पूर्ण रूपमा तयार रहेको अध्यक्ष भण्डारीले बताएका छन्।
























