नेकपाको केन्द्रीय संयोजन समिति बैठक आज, कार्यविभाजनमा निर्णय हुने
चितवन, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।
बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्। यसअघि वैशाख ३ गतेको बैठकले प्रस्ताव तयार पार्ने जिम्मेवारी दाहाल र नेपाललाई दिएको थियो।
यसका साथै बैठकमा चुनावी समीक्षा प्रतिवेदन अनुमोदन, सांगठनिक जिम्मेवारी बाँडफाँट र संरचना सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ। जिम्मेवारी बाँडफाँट गर्दा साविकका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्ने मापदण्ड अपनाइने जनाइएको छ।
नेकपाले प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकजस्ता जिम्मेवारी वरिष्ठ नेतामार्फत तोक्ने तयारी गरेको छ। साथै १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल हुनेछ।


















