पर्यटक बसपार्क अभावमा काठमाडौंमा पर्यटक सास्तीमा
चितवन , १५ बैशाख । काठमाडौँमा सार्वजनिक सवारीका लागि गोँगबुस्थित नयाँ बसपार्क सञ्चालनमा भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या बढ्दै गएको छ।
सरकारले पर्यटनलाई आर्थिक मेरुदण्डको रूपमा लिएको भए पनि राजधानीबाट विभिन्न पर्यटकीय गन्तव्यतर्फ जाने सवारीसाधनका लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन।
व्यवस्थित बसपार्क अभावका कारण दैनिक हजारौँ आन्तरिक तथा विदेशी पर्यटक सोह्रखुट्टे सडक हुँदै यात्रा गर्न बाध्य छन्। विगतमा कान्तिपथबाट सञ्चालन हुँदै आएका पर्यटक बसहरू २०७५ सालदेखि सोह्रखुट्टेमै पार्किङ गरी सञ्चालन भइरहेका छन्।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अनुसार, पर्यटक बसपार्क निर्माणका लागि लामो समयदेखि पहल गरिए पनि सम्बन्धित निकायले आवश्यक चासो नदेखाएको गुनासो गरिएको छ। उचित व्यवस्थापन नहुँदा पर्यटकले नकारात्मक अनुभव बटुल्नुपरेको छ।



























