घरबारविहीन हुन नदिने सरकारको प्रतिबद्धता: रवि लामिछाने
चितवन, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई व्यवस्थापन गर्दा कसैलाई पनि घरबारविहीन हुन नदिने बताएका छन्। सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले सुकुम्बासी तथा जोखिमपूर्ण स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा सरकार जिम्मेवार ढंगले अघि बढिरहेको बताए।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछानेले ढल तथा बाढीको जोखिममा रहेका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरे। उनले देशभर फैलिएको अव्यवस्थित बसोबासको समस्या समाधान गर्न विशेष आयोग गठन गरी शीघ्र समाधान खोजिने पनि बताए।
सभापति लामिछानेले सुकुम्बासीका मुद्दामा अनावश्यक राजनीतिकरण नगर्न आग्रह गर्दै जोखिमपूर्ण क्षेत्रमा बसोबासलाई ‘भोट बैंक’ बनाउने प्रवृत्ति गलत भएको टिप्पणी गरे।
यसैबीच, उनले सरकारले ल्याएका अध्यादेशहरू जनअपेक्षा पूरा गर्न र आवश्यक सुधारका लागि भएको स्पष्ट पारे। विगतका गलत अभ्यास सच्याउन कानुनी दायराभित्र रहेर सुधारका कदम चालिएको उनले बताए।
साथै, जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारी निर्वाहमा सक्रिय हुन आग्रह गर्दै आवश्यक परे लिखित रूपमा सुझाव दिन र सहजीकरणका लागि आफू सधैँ तयार रहेको उनले जनाए।


























