बल्खु–वंशीघाट सुकुमबासी हटाइएपछि ५० परिवारको रङ्गशालामा विवरण संकलन
चितवन, १८ वैशाख । काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रबाट हटाइएका सुकुमबासीमध्ये शुक्रबार दिउँसोसम्म ५० घरपरिवारले दशरथ रङ्गशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्। घरजग्गा तथा पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरूले विवरण संकलन गराएका हुन्।
दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विवरण संकलन गरिरहेको छ।
विवरण संकलनपछि स्वास्थ्य परीक्षण र मनोपरामर्श गरी उनीहरूलाई तोकिएका होल्डिङ सेन्टरमा पठाइने तयारी गरिएको छ। प्रारम्भिक रूपमा उनीहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि
विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा राख्ने योजना छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार, रङ्गशालामा आएका सुकुमबासीको विवरण संकलन गरी उनीहरूलाई क्रमशः होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको छ।






















