हवाई इन्धन महँगिएपछि सेवा बन्दको चेतावनी, वायुसेवा कम्पनीको सरकारसँग राहत माग
चितवन , २० बैशाख । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेसँगै सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
वायुसेवा सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र लेख्दै वायुसेवा कम्पनीहरूलाई तत्काल राहत र सहुलियत दिन माग गरेको छ।
संघका अनुसार कोरोना महामारी, २३ र २४ भदौको जेनजी आन्दोलन तथा मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य तीव्र रूपमा बढेको हो। यसले वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च अत्यधिक बढाएको र पर्यटक आगमनमा समेत गिरावट आएको उल्लेख गरिएको छ।
पत्रमा कम्पनीहरू दैनिक रूपमा आर्थिक संकटमा परिरहेको र यथास्थितिमा सेवा नै रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।
वायुसेवा कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन माग गरेका छन्।
त्यस्तै, विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर घटाउन तथा वायुसेवा कम्पनीलाई विशेष उद्योगसरह मानी आयकरमा २० प्रतिशत छुटको व्यवस्था गर्न पनि माग गरिएको छ।



















