सातै प्रदेशमा पहिलो पटक कृषि गणना सञ्चालन, मन्त्रालयद्वारा आन्तरिक जनशक्ति प्रयोग
चितवन, २१ बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गर्दै तीनै तहका सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ।
सरकारले आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी कृषि गणनालाई मितव्ययी बनाएको जनाएको छ। गणकहरू किसानको घरदैलोमै पुगेर सूचना सङ्कलन गरिरहेका छन्, जसका आधारमा आधिकारिक तथ्याङ्क तयार पारिनेछ। तथ्याङ्क सङ्कलनका लागि मोबाइल र ट्याबलेट प्रयोग गरिएकाले कार्यक्रम प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीका अनुसार प्राप्त तथ्याङ्कले कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउनेछ।
पहिलो चरणमा कृषि प्राविधिकहरूले कृषकसँग कृषिमा पहुँच, मल–बिउको प्रयोग, सिँचाइ, प्रविधि, वित्तीय सेवा, बिमा तथा उत्पादन अवस्थाजस्ता विषयमा विवरण सङ्कलन गरिरहेका छन्।
दोस्रो चरणमा सङ्कलित तथ्याङ्कको विश्लेषण गरी आधिकारिक कृषि तथ्याङ्क सार्वजनिक गरिनेछ। यसका लागि सुपरिवेक्षकलाई तालिम दिई उनीहरूले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार दोस्रो चरण सुरु गर्न पहिलो चरणको काम अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।























