बेमौसमी वर्षाले बिपी राजमार्ग प्रभावित: राति ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द
चितवन, २३ बैशाख । बेमौसमी वर्षाका कारण पटक–पटक सडक अवरुद्ध हुन थालेपछि सुरक्षा निकायले बिपी राजमार्ग मा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मङ्गलबारदेखि राजमार्गमा रातिको समयमा अनिश्चितकालीन रूपमा आवागमन बन्द गरिएको छ।
समितिले जोखिमलाई ध्यानमा राख्दै साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो। रोशी खोलामा आएको बाढीले पानीको सतह बढाउँदा अस्थायी डाइभर्सन बगाउने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए।
उनका अनुसार मौसम सुधारसँगै राजमार्ग पुनः नियमित सञ्चालनमा ल्याइनेछ। यसैबीच, सोमबारको वर्षापछि रोशी गाउँपालिका–७ अन्तर्गत लास्कोट र घुमाउनेबीच फसेका पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १ बजे सकुशल उद्धार गरेको थियो।
बाढीका कारण अस्थायी डाइभर्सन बग्ने जोखिम बढेपछि सोमबार साँझदेखि नै उक्त खण्डमा सवारी आवागमन रोकिएको थियो। राजमार्ग बन्द भएपछि सवारी साधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको थियो।
प्रहरीले दिनको समयमा मात्र सडकको अवस्था बुझेर यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विगत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि हाल अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन हुँदै आएको छ भने स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।























