नागरिकको आवाज र सामाजिक हित केन्द्रमा राखेर सञ्चारमाध्यम चल्नुपर्छ : मन्त्री तिमिल्सिना
चितवन, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको विश्वास र अपेक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
मन्त्री तिमिल्सिनाले सरकारी संस्थानलाई समयानुकूल, व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरुलाई उत्तरदायी र समाधानमुखी भएर काम गर्न निर्देशन दिए । उनले समस्या मात्र औँल्याएर नहुने भन्दै कार्यशैलीमा सुधार आवश्यक रहेको बताए ।
गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए ।
पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणाली समयसँगै परिवर्तन भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गोरखापत्रले आफूलाई थप प्रभावकारी, विश्वसनीय र फरक माध्यमका रूपमा स्थापित गर्न समीक्षा गर्नुपर्ने बताए ।
“आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले भविष्यको मार्गनिर्देश गर्छ,” भन्दै उनले संस्थालाई गर्व गर्नलायक बनाउने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।
उनले नागरिकले तिरेको करबाट सञ्चालन हुने संस्थाले नागरिककै हितमा काम गर्नुपर्ने दायित्व रहेको पनि बताए ।
कार्यक्रममा मन्त्री तिमिल्सिनाले गोरखापत्रले आजदेखि प्रकाशन सुरु गरेको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति अनावरण गरेका थिए ।




















