प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव, कृषि र रोजगारीमा जोड
चितवन, ३१ बैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
३५ जना सांसदले संशोधन दर्ता गर्दै कृषि, पर्यटन, रोजगारी, सुशासन र सामाजिक न्यायका विषयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको हो ।
सांसद सुहाङ नेम्वाङले नीति तथा कार्यक्रममा राष्ट्रिय एकताको भावना झल्किनुपर्ने बताउँदै संविधान संशोधनजस्ता विषयलाई समेट्न आग्रह गर्नुभयो । क्षितिज थेवेले सुशासनका विषय सकारात्मक भए पनि पर्यटन प्रवद्र्धनका ठोस कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विषय नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै असन्तुष्टि जनाउनुभयो । यस्तै डा अर्जुनकुमार कार्कीले आर्थिक कूटनीतिमार्फत वैदेशिक सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा वन क्षेत्रको उपयोग, सुकुमवासी समस्या समाधान, आदिवासी जनजातिको ज्ञान संरक्षण, युवामैत्री कार्यक्रम, प्रदूषण नियन्त्रण र स्वास्थ्य सेवामा पहुँच विस्तारका विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बैठक जारी छ ।






















