धादिङमा लागुऔषध अफिम र भरुवा बन्दुक सहित तीनजना पक्राउ
धादिङ , १ जेठ । धान्दिङमा लागुऔषध अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित होवाङमा प्रहरीले ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने वस्तु र भरुवा बन्दुकसहित ३५ वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको हो ।
आज बिहान करिब ४ बजे गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमान्डमा खटिएको प्रहरी टोलिले उनको घरनजिकको गोठबाट एउटा एक नाले भरुवा बन्दुक र सोही स्थानको कोठामा ५ वटा बाल्टिमा अफिम जस्तो देखिने कालो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले दुई थान डिजिटल तराजु र २ थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका तामाङ यसअघिनै लागू औषध तथा हातहतियार खरखजना मुद्दामा २०७५ सालदेखी नै फरार प्रतिवादी रहेको खुलेको छ । २०७५ साल मंसिर २८ गते तामाङको घरबाट ३०० किलो गाजा र एक नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई लागू औषध तथा हातहतियार खरखजना मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले होवाङबाटै थप दुईथान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले होवाङ निवासी २८ वर्षिय विराज तामाङ र सोही स्थानका २८ वर्षिय सानो कान्छा तामाङको घरबाट एक एकथान भरुवा बन्दुक बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरि हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।






















