नेपाललाई अमेरिकाको १९६ रनको लक्ष्य, दीपेन्द्रको घातक बलिङ
चितवन, ०२ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो। एक समय १५३ रनमा तीन विकेटको बलियो अवस्थामा रहेको अमेरिकाले थप ३७ रन जोड्दा बाँकी सात विकेट गुमायो।
अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा तीन छक्का र आठ चौकासहित ८३ रन बनाए भने सेहन जयसूर्याले ५२ बलमा एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन जोडे। यस्तै मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन बनाए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। सोमपाल कामीले दुई विकेट झारे भने सन्दीप लामिछाने र गुलशन झाले समान एक–एक विकेट लिए।
नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक शृंखलामा हालसम्म दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा स्कटल्यान्ड विजयी भएको थियो। स्कटल्यान्डले पहिलो खेलमा नेपाललाई तथा दोस्रो खेलमा अमेरिकालाई डकवर्थ–लुइस नियमका आधारमा दुई–दुई रनले पराजित गरेको थियो।
लिग–२ को अंक तालिकामा नेपाल हाल आठौँ स्थानमा छ। नेपालले २५ खेलमध्ये आठ जित, १५ हार र दुई खेलमा अंक बाँड्दै १८ अंक जोडेको छ। अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकका साथ शीर्ष स्थानमा छ।




















