त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित एक जना पक्राउ
प्रकाशित मिति: बुधबार, जेठ ०६, २०८३ | १८:३८:५२
चितवन, ०६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–१३ निवासी ३८ वर्षीय अजित श्रेष्ठलाई मंगलबार नियन्त्रणमा लिइएको हो । उनी राहदानी नम्बर १२१३४८५५ वाहक हुन् ।
प्रहरीका अनुसार नेपाल एयरलाइन्समार्फत काठमाडौँबाट दिल्ली जान लागेका श्रेष्ठले कुनै आधिकारिक अनुमति वा पत्रबिना ३७ वटा नेपाली राहदानी रोमानियाको भिसा लगाउन लैजान खोजिरहेका थिए ।
उनीलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, जेठ ०६, २०८३ |
१८:३८:५२
397


























