‘संसद्मा कराएर बाँदर समस्या समाधान हुँदैन’ : महावीर पुन
प्रकाशित मिति: बिहिबार, जेठ ०७, २०८३ | १८:३९:१९
चितवन, ०७ जेठ । सांसद महावीर पुनले बाँदर आतंकको समस्या केवल संसद्मा आवाज उठाएर समाधान नहुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले आफूले सात वर्षअघिदेखि नै यो समस्या उठाउँदै आएको तर प्रभावकारी समाधान नआएको बताए।
उनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत बाँदर नियन्त्रणसम्बन्धी अनुसन्धानका लागि ५०–६० लाख रुपैयाँसम्म प्रयास गरिएको उल्लेख गरे। पुनले स्थानीय तहहरूलाई समेत अनुसन्धानका लागि बजेट जुटाउन आग्रह गरेको स्मरण गराए।
उनले भने, “मैले हरेक गाउँपालिकालाई एक–एक लाख रुपैयाँ उठाएर बाँदर आतंक कम गर्ने उपायबारे अनुसन्धान गर्नुपर्छ भनेको थिएँ। यहाँ संसद्मा कराएर मात्र हुँदैन।”
पुनले बाँदर भगाउने प्रभावकारी प्रविधि विश्वभर खोज्दा पनि ठोस समाधान नभेटिएको उल्लेख गर्दै यस विषयमा अनुसन्धानका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति : बिहिबार, जेठ ०७, २०८३ |
१८:३९:१९
375

























