चालु आर्थिक वर्षमा परियोजना बैंकमा ४ हजार ३९१ आयोजना दर्ता, अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारको संकेत
चितवन, ०८ जेठ । चालु आर्थिक वर्षमा परियोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या ४ हजार ३९१ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ आयोजनामात्रै ३९० वटा थपिएका छन्।
तीमध्ये आव २०८१/८२ का ६ आयोजना, गत चैत २२ मा १२६, वैशाख १० मा १३०, वैशाख १५ मा ३१ र जेठ ४ गते १०३ आयोजना दर्ता भएका हुन्। परियोजना बैंकमा रहेका कुल आयोजनामध्ये ९२ क्रमागत आयोजना र ३ हजार ९०९ अध्ययन चरणमा रहेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रस्तुत विवरणमा मुलुकको अर्थतन्त्रमा विभिन्न सकारात्मक संकेत देखिएको बताएका छन्।
उनका अनुसार विद्युत् उत्पादन र पर्यटक आगमनमा वृद्धि भएको छ भने बैंकिङ प्रणालीमा अधिक तरलता र विदेशी मुद्रा सञ्चिति पर्याप्त अवस्थामा रहेको छ।
त्यसैगरी वन क्षेत्रको उत्पादकत्व बढेसँगै काष्ठ तथा गैरकाष्ठ वन पैदावरको निकासी करिब २० अर्ब रुपैयाँ पुगेको छ। नेपालले विश्व कार्बन व्यापारमा प्रवेश गर्दै कार्बन बिक्रीबाट पहिलो किस्ताका रूपमा करिब ९.४ मिलियन अमेरिकी डलर वन विकास कोषमा प्राप्त गरेको पनि उनले जानकारी दिए।
सिमेन्ट र जलविद्युत् क्षेत्रमा कच्चा पदार्थको उपयोग बढेसँगै उत्पादन वृद्धि भई आत्मनिर्भरता र निर्यात सम्भावना बढेको तथा डिजिटल सुशासन र सूचना प्रविधि क्षेत्रले युवा रोजगारी र आम्दानीका अवसर विस्तार गर्ने अवस्था बनेको अर्थमन्त्रीको भनाइ छ।

























