स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने अर्थमन्त्री वाग्लेको घोषणा, खर्च र दाबीबीच ठूलो अन्तर
चितवन, ०८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन्।
आज राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हालको मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दिगो रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै यसलाई सुधारेर अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि २५ देखि ३० अर्ब रुपैयाँसम्मको दाबी खर्च आएको छ, जसका कारण भुक्तानीमा समस्या देखिएको छ।
मन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रम संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवासँग जोडिएको महत्वपूर्ण विषय भए पनि वर्तमान संरचनाले त्यसलाई धान्न नसकेको बताए।
उनले भने, “हामीले यसलाई अत्यन्तै उदार भएर चलाउन सकेका छैनौं। निजी अस्पतालहरूमा अनावश्यक परीक्षण र अस्वाभाविक दाबीका कारण कार्यक्रममाथि दबाब बढेको छ। त्यसैले यसलाई पुनर्संरचना गर्नुपर्ने अवस्था आएको हो।”
उनका अनुसार आगामी बजेटमा स्वास्थ्य बीमाका लागि विनियोजन १० अर्बबाट बढाएर १२ अर्ब रुपैयाँ पुर्याइनेछ। साथै, प्रणालीलाई विपन्न वर्गको आधारभूत स्वास्थ्य सेवामा केन्द्रित गर्दै, आर्थिक रूपमा सक्षम नागरिकहरूलाई योगदानमा आधारित बीमा प्रणालीमा समेट्ने गरी सुधार गरिनेछ।
मन्त्री वाग्लेले हालको दाबी र दायित्वको असन्तुलनले कार्यक्रम नै धराशायी हुने जोखिम देखिएको भन्दै दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले पुनर्संरचना आवश्यक रहेको स्पष्ट पारे।
























