नेपाल–बेलायत सम्बन्ध सुदृढ गर्न मन्त्रीस्तरीय भेटवार्ता
चितवन, ०८ जेठ । नेपालको तीनदिने भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन् ।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धका विविध पक्षबारे छलफल गर्दै सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका थिए ।
भेटवार्तामा लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु परिवर्तन र डिजिटल प्रविधि क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
परराष्ट्रमन्त्री खनालले दशकौँदेखि समाधान हुन नसकेको पूर्व ब्रिटिश गोर्खाहरूका समस्या र गुनासो छिटो सम्बोधन गर्न बेलायती पक्षलाई आग्रह गरेका थिए । जवाफमा मन्त्री मल्होत्राले उक्त विषय समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको बताएकी छन् ।
भ्रमणका क्रममा उनले अन्य केही मन्त्रीसँग भेटवार्ता गर्ने तथा लुम्बिनी र कपिलवस्तुको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

























