महेन्द्रनगरमा मौज्दात रासायनिक मल पुनः वितरण हुँदै, नयाँ कोटा निर्धारण प्रक्रिया सुरु
चितवन, १० जेठ । कृषि सामग्री कम्पनी लिमिटेडको महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल किसानलाई पुनः वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । शाखाले सहकारी संस्थामार्फत मल उपलब्ध गराउन नयाँ कोटा निर्धारणको तयारी अघि बढाएको हो ।
हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको जनाएको छ ।
शाखा प्रबन्धक हेमराज जोशीका अनुसार कार्यविधिअनुसार सहकारी संस्थाले तोकिएको कोटाअन्तर्गतको मल १० दिनभित्र उठाइसक्नुपर्ने व्यवस्था छ । समयमै मल नउठाउँदा गोदाममा मौज्दात बढेको उनले बताए ।
उनले गत साउनदेखि हालसम्म युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण भइसकेको जानकारी दिए । उनका अनुसार एक कोटा बराबर ५०० मेट्रिक टन मल हुन्छ ।
मौज्दात रहेको मल पुनः वितरण गर्न प्रदेश मल वितरण व्यवस्थापन समितिलाई नयाँ कोटा निर्धारण गरिदिन पत्राचार गरिएको शाखाले जनाएको छ ।





















