विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
चितवन, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले नयाँ नियमावली ल्याउने तयारी गरेको बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासो आएकाले नियमन आवश्यक भएको उल्लेख गरे । उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको अन्तिम मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ । ती मन्त्रालयबाट राय तथा स्वीकृति प्राप्त भएपछि मन्त्रिपरिषद्मा पेश गरिनेछ ।
मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू हालसम्म प्रभावकारी रूपमा नियमन हुन नसकेको बताए । नियमावलीमार्फत कुन प्रकारका विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट गरिने उनले जानकारी दिए ।
उनका अनुसार नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरूको नियमन प्रणाली व्यवस्थित हुन सकेको छैन ।
शिक्षा मन्त्रालयले हाल शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली गरी तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको जनाएको छ ।
शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले मन्त्रालयले नियमावलीमार्फत आवश्यक सुधारका काम अघि बढाएको मन्त्री पोखरेलले बताए । साथै उनले विद्यालयमा शिक्षक दरबन्दी मिलानको काम पनि अघि बढाइएको जानकारी दिए ।



















