हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी, मन्त्री यादवद्वारा निरीक्षण
चितवन, १० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटमा रहेको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उनले उद्योगको अवस्था बुझ्दै व्यवस्थापन तथा कर्मचारीसँग छलफल पनि गरेकी छन्।
छलफलमा मन्त्री यादवले सरकारी स्वामित्वका बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउँदै हेटौँडा सिमेन्ट उद्योगलाई नियमित सञ्चालनमा ल्याउन अध्ययन भइरहेको जानकारी दिइन्। उनले उद्योग बन्द हुँदा रोजगारी र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
उद्योग व्यवस्थापनका अनुसार पुराना मेसिनरी, कच्चा पदार्थको अभाव तथा आर्थिक सङ्कटका कारण उत्पादन अवरुद्ध हुँदै आएको छ। कर्मचारीहरूको तलबभत्ता लामो समयदेखि रोकिएको, आपूर्तिकर्ताको बक्यौता र विद्युत् महसुल तिर्न नसकिएको समस्या पनि रहेको जानकारी दिइएको छ।
विसं २०३३ मा स्थापना भई २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको उक्त उद्योग हाल पुराना उपकरणका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताइएको छ।
























