बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ | १०:१३:२८
चितवन, १२ जेठ । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार साँझ ५ बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यससँगै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि पनि आजदेखि छलफल सुरु हुने भएको छ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि आज बिहान बस्ने बैठकमा छलफल हुने सचिव पौडेलले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, जेठ १२, २०८३ |
१०:१३:२८
111






















