जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह
चितवन, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी सुधार गर्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान परिस्थितिको गम्भीरता र सरकारमाथि आएको जिम्मेवारीबारे आफू पूर्ण रूपमा सचेत रहेको बताए।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र स्पष्ट नीति निर्देशनप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै भने, “नयाँ सरकार हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति स्थिर, स्पष्ट र अनुमानयोग्य रहनेछ।”
उनले सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए। विश्व बजारबाट लाभ लिन, लगानीमैत्री वातावरण बनाउन, नवप्रवर्तन प्रोत्साहन गर्न तथा दिगो विकास हासिल गर्न सरकार सक्रिय रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी, विकास साझेदार र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने बताए।
उनले नेपालको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
भेटमा सहभागी इयू तथा अन्य मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए। साथै, आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न तयार रहेको उनीहरूले बताएका थिए।
























