निर्वाचनको निष्पक्षतामाथि माधव नेपालको प्रश्न: ‘एक दिन सबै कुरा खुल्नेछ’
चितवन, १७ जेठ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन परिणाम निष्पक्ष भएको विषयमा आशंका व्यक्त गरे। निर्वाचनका क्रममा राज्यका प्रमुख निकायहरूको भूमिकाबारे विभिन्न प्रश्न उठिरहेको उनको भनाइ थियो।
उनले नेपाली सेना, सरकार, निर्वाचन आयोग र मतपत्र व्यवस्थापनसँग सम्बन्धित विषयहरू शंकाको घेरामा रहेको उल्लेख गर्दै ती सबै विषय भविष्यमा क्रमशः स्पष्ट हुँदै जाने बताए। “यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने नै छन्,” उनले भने।
पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको दुईतिहाइ नजिकको सिटलाई ‘अस्थायी सुनामी’को संज्ञा दिँदै त्यसको पृष्ठभूमि र कारणबारे खोजी भइरहेको बताए।
नवनिर्वाचित दलका प्रतिनिधिहरूप्रति संकेत गर्दै उनले मुलुकमा भएका राजनीतिक परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे उनीहरूलाई पर्याप्त जानकारी नरहेको तथा त्यस प्रक्रियामा उनीहरूको भूमिका नभएको टिप्पणी गरे।
निर्वाचन परिणामपछि आफ्ना नेता–कार्यकर्ता केही रक्षात्मक बनेको महसुस भएको उल्लेख गर्दै नेपालले कसैलाई पनि निराश वा विचलित नहुन आग्रह गरे।


















