लेक लागेर मुस्ताङमा १३ पर्यटकको मृत्यु, ९ जना विदेशी
चितवन, १७ जेठ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा लेक (उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्या) लागेर १३ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी नागरिक रहेका छन्।
प्रहरीका अनुसार मुक्तिनाथ दर्शनका लागि आएका धार्मिक पर्यटकमध्ये लेक लागेर ९ जनाको ज्यान गएको हो। मृतकमध्ये नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशीतर्फ सात पुरुष र दुई महिला रहेका छन्।
मृतक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका क्षेत्रमा पुगेका पर्यटक हुन्। उनीहरूको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा हाइअल्टिच्युडका कारण विशेषगरी भारतीय पर्यटकहरू बढी प्रभावित हुने गरेका छन्। समथर भूभागबाट एक्कासि उच्च हिमाली क्षेत्रमा पुग्दा आवश्यक स्वास्थ्य सावधानी नअपनाउने कारण लेक लाग्ने र ज्यानसमेत जाने समस्या देखिएको हो।
समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्यटकहरूमा लेक लाग्ने जोखिम उच्च रहने गरेको छ। यस जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्।



















