निर्वाचन आयोगको सुझाव: प्रतिनिधिसभा २७५ बाट घटाएर १०५ सदस्यीय बनाऔँ
चितवन, २२ जेठ । निर्वाचन आयोगले संविधान संशोधनका लागि प्रतिनिधिसभाको आकार उल्लेखनीय रूपमा घटाएर १०५ सदस्यीय बनाउन सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई आयोगले लिखित रूपमा आफ्नो राय बुझाएको हो।
आयोगले हालको २७५ सदस्यीय प्रतिनिधिसभालाई घटाई प्रत्यक्ष निर्वाचनतर्फ ७७ र समानुपातिकतर्फ २८ सदस्य रहने व्यवस्था गर्न प्रस्ताव गरेको छ। आयोगको सुझावअनुसार प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्र मानिनेछ।
आयोगले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्न सकिने धारणा पनि अघि सारेको छ। त्यस्तै, राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारीसमेत दिने व्यवस्था गर्न सुझाव दिइएको छ। सङ्घ र प्रदेशमा विज्ञहरूको सहभागितासहित मन्त्रिपरिषद् गठन गर्न सकिने विषय पनि सुझावमा समेटिएको छ।
उम्मेदवारको उमेर हदसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गरिएको छ। आयोगले प्रतिनिधिसभा सदस्यका लागि न्यूनतम उमेर २१ वर्ष र राष्ट्रियसभा सदस्यका लागि ३० वर्ष कायम गर्न उपयुक्त हुने जनाएको छ। हाल प्रतिनिधिसभा सदस्य बन्न २५ वर्ष र राष्ट्रियसभा सदस्य बन्न ३५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
आयोगले प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली हटाउने सुझावसमेत दिएको छ। आयोगले संविधान संशोधनसम्बन्धी आफ्नो २१ बुँदे सुझाव कार्यदलसमक्ष पेश गरेको हो।






















