म्याग्दीको जंगलबाट ८ थान अवैध भरुवा बन्दुक बरामद
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ | १४:५२:०९
चितवन, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले आठ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट खटिएको विशेष टोलीले रघुगंगा गाउँपालिका–७ को फेदिवन क्षेत्रमा खोजतलास गर्ने क्रममा ती हतियार फेला पारेको हो।
प्रहरीका अनुसार इजाजतपत्रविहीन भरुवा बन्दुकहरू जंगलमा लुकाएर राखिएको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। बरामद गरिएका सबै हतियारलाई कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको तथा हाल अस्थायी प्रहरी पोस्ट चिमखोलामा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
अवैध हतियार नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले यो सफलता हासिल गरेको बताइएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २७, २०८३ |
१४:५२:०९
133























