सर्वोच्चको नयाँ व्यवस्था: रिट निवेदन २४ घण्टाभित्र दर्ता प्रक्रिया टुंग्याइने
चितवन, २८ जेठ । सर्वोच्च अदालतले रिट निवेदन दर्ता तथा त्यससम्बन्धी कारबाहीलाई थप छिटो, सहज र व्यवस्थित बनाउन नयाँ समयसीमा लागू गरेको छ।
अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनाअनुसार आवश्यक कागजातसहित पेस भएका रिट निवेदनहरूको दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया अब सामान्यतया २४ घण्टाभित्र सम्पन्न गरिनेछ।
त्यस्तै, कानुनी रूपमा दर्ता हुन नसक्ने प्रकृतिका रिट निवेदनहरूको हकमा पनि निश्चित समयसीमा तोकिएको छ। दर्ता गर्न नमिल्ने देखिएका निवेदनहरू पेस भएको समयदेखि ४८ घण्टाभित्र आवश्यक निर्णय तथा निकास दिइने सर्वोच्चले जनाएको छ।
अदालतका अनुसार नयाँ व्यवस्थाले रिट निवेदन दर्ता प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई छिटो न्यायिक सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ। साथै, दर्ता नहुने निवेदनहरू लामो समयसम्म अल्झिने अवस्थाको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।





















