विपद् व्यवस्थापनमा ड्रोन प्रविधिलाई प्राथमिकता, २०० केजी क्षमताका ड्रोन खरिद हुँदै
चितवन, २८ जेठ । सरकारले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बिहान बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् उद्धार तथा व्यवस्थापनका लागि नयाँ प्रविधिको उपयोग बढाउने योजना मन्त्रालयको रहेको जानकारी दिए।
उनका अनुसार सरकारले २०० केजीसम्म भार बोक्न सक्ने हेभी लिफ्टिङ ड्रोन खरिद प्रक्रिया अघि बढाइसकेको छ। यस्ता ड्रोनले विपद्का समयमा उद्धार तथा राहत सामग्री ढुवानीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यद्यपि, सार्वजनिक खरिद ऐनका कारण खरिद प्रक्रिया लामो हुने भन्दै गृहमन्त्री गुरुङले असन्तुष्टि जनाए। उनले ड्रोन खरिदका लागि कम्तीमा ४५ दिन लाग्ने भएकाले मनसुनअघि आवश्यक उपकरण उपलब्ध गराउन कठिन हुने बताए।
‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यतिन्जेल मनसुन सकिइसक्छ,’ उनले भने, ‘काम गर्न सहज हुने गरी ऐन संशोधनमा माननीयज्यूहरूको सहयोग आवश्यक छ।’
























