ठगी मुद्दामा सेफ सन्तोष साहलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित मिति: सोमबार, आषाढ ०१, २०८३ | १६:१६:३२
चितवन, ०१ असार । प्रसिद्ध सेफ सन्तोष साहलाई ठगी आरोपमा अनुसन्धानका लागि प्रहरीले तीन दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहमाथि अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद लिइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेफ साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई गत शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
प्रहरीका अनुसार साहविरुद्ध ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। सोही आधारमा पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परेका हुन्।
दुई फरक मुद्दामा अनुसन्धान भइरहेकोमध्ये हाल ठगीसम्बन्धी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ ०१, २०८३ |
१६:१६:३२
111


























