चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
चितवन, ०३ असार । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउँदै ‘पार–हिमाली’ समृद्धिको नयाँ अध्याय संयुक्त रूपमा निर्माण गर्न आह्वान गरेका छन्।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा उपलब्ध आर्थिक अवसर र जनसांख्यिकीय सम्भावनाबारे जानकारी गराएका थिए। उनले लगानीमैत्री वातावरण थप सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित सम्मेलनका क्रममा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता पनि गरेका थिए। कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिले नेपालमा रहेका लगानीका विभिन्न सम्भावनाबारे प्रस्तुतीकरण दिएका थिए।
भ्रमणकै क्रममा मन्त्री खनालले चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।
यसैगरी, मन्त्री खनालले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे धारणा व्यक्त गरेका थिए।


























