पाँच समस्याग्रस्त सहकारीका करिब ३ हजार साना बचतकर्तालाई असार मसान्तभित्र बचत फिर्ता गरिने
चितवन, २३ आषाढ । बागमती प्रदेशस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम असार मसान्तभित्र फिर्ता गर्ने तयारी गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा हालै भएको छलफलपछि सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी तथा नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने निर्णय गरिएको हो।
समिति सदस्य रामेश्वर ढकालका अनुसार असार २७ गतेदेखि मसान्तसम्म बचतकर्तालाई रकम वितरण गर्ने योजना बनाइएको छ। हाल बचतकर्ताको विवरण प्रमाणीकरण (भेरिफाइ) गर्ने कार्य भइरहेको उनले बताए।
बचत फिर्ताका लागि हालसम्म करिब ९ करोड रुपैयाँ संकलन भइसकेको समितिले जनाएको छ। सम्बन्धित पाँच सहकारीका साना बचतकर्तालाई आवश्यक कागजातसहित अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
समितिको निर्णयअनुसार सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताले १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता पाउनेछन्। यसबाट करिब तीन हजार साना बचतकर्ता लाभान्वित हुने समितिले जनाएको छ।
यसअघि समितिले जेठ २२ गते समस्याग्रस्त घोषित ती सहकारीका ११४ जना ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न निर्देशन दिएको थियो।




















