धनगढीमा डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी, सहमतिको प्रयास तीव्र
चितवन, १० साउन । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच वार्ता जारी रहेको छ। सहमतिको प्रयासस्वरूप दुवै पक्षबीच पहिलो चरणको छलफल भइरहेको हो।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहभागी सरकारी टोलीले डा. केसीका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग अस्पतालमै वार्ता गरिरहेको शिक्षा सचिव पौडेलले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको आधार खोज्ने प्रयास भइरहेको छ। त्यसपछि आवश्यकताअनुसार डा. केसीसँग प्रत्यक्ष संवाद गरिनेछ।
डा. केसी गत बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनमा छन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
उनका प्रमुख मागमा गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरीतका नियुक्ति खारेज, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान संशोधन, छात्रवृत्ति कटौती तथा निजी मेडिकल कलेजमा मापदण्डबिना सिट वृद्धि गर्ने निर्णय र प्रस्ताव तत्काल रद्द गर्नुपर्ने विषय समावेश छन्।
यसका साथै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन, सरकारसँग विगतमा भएका लिखित सहमतिको पालना तथा सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकका लागि स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
डा. केसीले भदौ २३ र २४ गते भएका हत्या, आगजनी र लुटपाटजस्ता घटनाका दोषीलाई कानुनी कारबाही गर्न तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्।






















