नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, डेटा प्याकदेखि ‘नमस्ते क्रेडिट’सम्म नयाँ सुविधा
चितवन, १२ साउन । नेपाल टेलिकमले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाग्राहीका लागि विभिन्न आकर्षक सुविधासहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। यो अफर आजदेखि लागू भएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ आकर्षक प्याकेज उपलब्ध गराइएको छ।
प्रिपेड प्रयोगकर्ताका लागि भने २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध हुनेछ। त्यस्तै, धेरै डेटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँमा ५०० जिबी डेटा र ३५० मिनेट अल-नेट कल सुविधा समेटिएको विशेष प्याक पनि ल्याइएको छ।
यसपटकको अफरमा नेपाल टेलिकमले हाल सञ्चालनमा रहेको १५ रुपैयाँको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवाको सीमा बढाएर ३० रुपैयाँ पुर्याएको छ, जसबाट ग्राहकले आवश्यक पर्दा थप सापटी सुविधा लिन सक्नेछन्।





















