इरानी ड्रोन आक्रमणमा कुवेतमा एक नेपालीको मृत्यु
चितवन, १५ साउन । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको आक्रमणमा सवारी चालकका रूपमा कार्यरत तामाङको निधन भएको पुष्टि गरेको हो।
दूतावासका अनुसार कुवेतको परराष्ट्र मन्त्रालयबाट तामाङको निधनबारे आधिकारिक जानकारी प्राप्त भएको छ। दूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
साथै, तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ।
दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।



















