सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल
चितवन, १५ साउन । सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपिल जारी गरेका हुन् ।
“विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौँ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।
सबै धर्मको भाव मानवकल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक एकतालाई बलियो बनाउनु सामूहिक जिम्मेवारी भएको उनीहरूले जनाएका छन् ।
“सदियौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुयाउन भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन अपिल गर्दै हामी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनर्स्थापित गर्न सक्रिय योगदान दिन अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
सबै नेपालीलाई शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।


















